काठमाडौं। ताप्लेजुङमा निर्माणाधीन तमोर करिडोरले छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ। राष्ट्रिय गौरवको सडक आयोजनाका रूपमा रहेको निर्माणाधीन यस करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो। तमोर करिडोरको अन्तिम ट्रयाक (मार्ग) खोल्ने कार्य हाल जारी छ।
अब ट्र्याक निर्माण हुन बाँकी रहेको तीन किलोमिटर दूरी सम्पन्न भएमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलालाई करिडोरले जोड्नेछ। ट्रयाकले ओलाङ्चुङगोला जोड्नासाथ यसअघि स्थानीयको पहलमा निर्माण गरिएको टिपताला–ओलाङ्चुङगोला सडकमा तमोर कोरिडोर जोडिने। चीन र नेपालको उत्तरी सीमानाका टिपतालासम्म ट्रयाक जोडिनेबित्तिकै तमोर करिडोरमार्फत भारत र चीनलाई सडक सञ्जालले जोड्नेछ।
यसरी भारत र चीनलाई सडक सञ्जालले जोड्ने निर्माणाधीन तमोर करिडोरको कार्य हाल निरन्तर भइरहेको निर्माण कम्पनीले जनाएको छ। कम्पनीका प्रतिनिधि राजीव लामिछानेका अनुसार करिडोरको ट्र्याक निर्माणकार्य भइरहेको र अहिले जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला क्षेत्र प्रवेश गरिसकेको छ। आगामी फागुन मसान्तअगावै चीनसँग सडक जोड्ने लक्ष्यका साथ हाल काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि लामिछानेले बताए।