काठमाडौं। विद्युतिय गाडीको प्रयोग बढाउने उद्देश्यले मुलुकका ५० स्थानमा चार्जिङ स्टेसन निर्माण थालिएको छ। दैनिक ४०० मेगावाट विद्युत उत्पादन भएपछि त्यसको सहि उपयोग गर्न स्टेसन निर्माण थालिएको हो। चार्जिङ स्टेसन निर्माण भएपछि विद्युतिय सवारी साधनको प्रयोग बढ्ने प्राधिकरणको विश्वास रहेको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्वदेशमै विद्युत खर्च गर्ने रणनीति भइरहेको बताएका छन्। ठुला उद्योगलाई चाहेजति विद्युत उपलब्ध गराउन प्राधिकरण तयार रहेको पनि उनले बताएका छन्। लुम्बिनी परासी क्षेत्रमा दर्जनौं ठुला उद्योग रहेको र कतिपय उद्योगले विद्युत नभएको कारण फुलेफेजमा उत्पादन गर्न नसकिएको बताउँदै अब विद्युत अभाव नहुने घिसिङको भनाइ छ। तत्काल नै खपत गर्न सक्ने उद्योगलाई १३३ केभीए प्रसारण लाइन पनि प्राधिकरणले उपलब्ध गराउन सक्ने उनले बताएका छन्।
हाल चाहिएको भन्दा बढी विद्युत उत्पादन भइरहेको हुनाले इन्डक्सन कुकिङ, इलेक्ट्रिक भेइकल जस्ता योजनालाई अगाडी बढाउनुपर्ने घिसिङको भनाई रहेको छ। साथै इलेक्कि भेइकल निर्माणको लागि देशको ५० ठाउँमा चार्जिङ सेन्टर बनाउदै गरेको उनले बताएका छन्। विद्युत विस्तार र संरचना निर्माणमा ऐन कानुन नै बाँधक भएको घिसिङको गुनासो रहेको छ। एक्सटेन्सन लाइन विस्तार गर्न राइट अफ वे का लागि वन क्षेत्रमा जग्गा अधिग्रहण प्रक्रिया लामो र जटिल हुँदा समयमै योजना सम्पन्न गर्न नसकिएको कुरा पनि उनले बताएका छन्।