काठमाडौं। चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ। सो उद्योगमा सरकारले पहिलो पटक विद्युत पुर्याएको हो।
नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत आपूर्ति दिएको जनाएको छ। प्रसारण लाइन तथा सबस्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिइएको हो। सो उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै विद्युत दिइएको हो। यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति लिएको छ।
११ र ३३ केभी प्रसारण मेगावाटलाइनबाट विद्युत आपूर्ति लिने ग्राहककोभन्दा १३२ केभीको महसुल सस्तो छ। विद्युत लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजल जेनेरेटरमार्फत विद्युत आपूर्ति गरिरहेको थियो। यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ।
होङ्शी सिमेन्ट उद्योगले ३० मेगावाट विद्युत खपत गर्नेछ। उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत चाहिने छ। होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योगलाई विद्युत आपूर्ति दिइएको छ। नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति दिइएको हो।
बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई विद्युत दिइएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्याउने घोषणा अनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको हो। सरकारले सो उद्योगमा बिजुली लैजान ४० लाख अमेरिकी डलर लगानीमा आर्थिक वर्ष २०७३/७४मा आयोजनाको सुरु गरिएको थियो।