काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सामानको प्रयोग बढाउनुपर्नेमा जोड दिएकी छन्। उनले विद्युत् महसुल समायोजन भएपछि विद्युत् शुल्क कम पर्ने भएकाले विद्युतीय सामान, सवारी साधनको प्रयोग गर्न सुझाव दिएकी हुन्।
आइतबार सामुदायिक रेडियो प्रसारक नेपाल संघ (अकोराव) ले आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री भुसालले सबै नेपाली जनताहरुलाई सवारी साधन, घरायसी प्रयोगका सामान किन्दा विद्युतीय सामानहरु किन्न आग्रह गरेकी हुन्।
आगामी मंसिर १ गतेदेखि विधुत् महसुल समायोजन प्रक्रिया लागू हुने भएकाले सक्दो विद्युतको खपत बढाउनुपर्नेमा जोड उनले दिएकी छिन्। त्यस्तै विद्युत्को दर नै महँगो भएकाले पहिलो कदम नै महसुल समायोजन भएको जानकारी गराएकी छिन्। सामान्य अर्थशास्त्रअनुसार जति धेरै उत्पादन हुन्छ, लागत मूल्य कम हुन्छ। तर यहाँ विद्युत्को दर सस्तो हुनुपर्नेमा झन महँगो छ त्यसैले विद्युत्को दरमा पुनर्विचार गरेर विद्युत् महसुल समायोजन गर्न लागिएको उनले बताएकी छिन्।
निजी क्षेत्रबाट हुने विद्युत उत्पादनको मात्रा बढाउन पहल गर्ने र बढी भन्दा बढी नेपाल विद्युत प्राधिकरणले खरिद गरि जनस्तरसम्म पुर्याउने योजना रहेको पनि उनले जानकारी गराएकी छिन्। साथै जनतालाई गरीबीबाट उन्मुक्ति दिलाउनु नै उनको पहिलो सपना रहेको जनाएकी छिन्।