सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुन लागेका दुई जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत जुटेको छ। हिमाली क्षेत्रमा नदी बहावमा आधारित ३६.५२ मेगावाटको ब्रह्मायणी र १५.१५ मेगावाटको माथिल्लो ब्रह्मायणी जलविद्युत् आयोजनाका लागि वित्तीय स्रोत जुटेको हो।
करिब १० अर्ब ५० करोड लागतमा निर्माण हुने यी आयोजनाका लागि सानिमा बैंकको अगुवाइमा सिद्धार्थ, प्रभु, कुमारी, लक्ष्मी बैंक, मञ्जुश्री फाइनान्स तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले ऋण लगानी गर्ने भएका छन्।
गत शुक्रबार यी आयोजनामा लगानीका लागि प्रवर्द्धक र बैंकहरूबीच सम्झौता भएको छ । वित्तीय संस्थाहरूका तर्फबाट सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र प्रवर्द्धकका तर्फबाट ब्रह्मायणी तथा इन्टिग्रेटेड फन्ड नेपाल कम्पनीका अध्यक्ष भरत पराजुलीले हस्ताक्षर गरे । वित्तीय व्यवस्थापन सम्झौताअनुसार आयोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले लागतको ७५ प्रतिशत ऋण प्रवाह गर्नेछन् ।
माथिल्लो ब्रह्मायणीको लागत ३ अर्ब १२ करोड ४१ लाख अनुमान छ । त्यसमध्ये बैंक तथा वित्तीय संस्थाले २ अर्ब ३४ करोड रुपैयाँ ऋण लगानी गर्नेछ । प्रवर्द्धक कम्पनीले ७८ करोड ४१ लाख लगानी गर्नुपर्नेछ । ब्रह्मायणी आयोजनाका लागि करिब ७ अर्ब ३४ रुपैयाँ लागत अनुमान छ । उक्त आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाले ५ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह गर्ने सम्झौता भएको छ । बाँकी २५ प्रतिशत अर्थात् १ अर्ब ८४ करोड रुपैयाँ स्वपुँजी प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ ।
दुवै आयोजना आगामी ०८२ सालभित्र पूरा गर्ने प्रवर्द्धक कम्पनीका अध्यक्ष पराजुलीले जानकारी दिए । आयोजानको प्रवेशमार्ग र क्याम्प निर्माण अन्तिम चरणमा पुगेको छ ।