धादिङ । मर्स्याङ्दी–काठमाडौं विद्युत् प्रसारण लाइनको काममा धादिङका कुम्पुरवासीले अवरोध गरेका छन् । विद्युत् प्रसारण लाइन बनाउँदा आफ्नो जग्गामा पोल र तार परेको भन्दै धादिङको कुम्पुर पिपलटारका बासिन्दाले काममा अवरोध गरेका हुन् ।
मर्स्याङ्दी–काठमाडौं दुई सय २० केभी प्रसारण लाइन आयोजनाले २०७४ साल असोजमा सूचना प्रकाशन गरेको जग्गाको रेखाङ्कनभन्दा आठ मिटर पर पर्ने गरी २०७६ सालको जेठमा अर्को सूचना प्रकाशन गरेपछि स्थानीयबासीले अहिले काममा अवरोध गरेका हुन् ।
अर्को रेखाङ्कन गर्दा ६० जनाभन्दा धेरैको जग्गा परेकाले क्षतिपूर्तिको माग गरिएको स्थानीयको भनाइ छ । दोस्रो रेखाङ्कनमा जग्गा परेकाहरूलाई क्षतिपूर्ति नदिएसम्म काम अघि बढाउन नदिने उनीहरुले चेतावनी समेत दिएका छन् ।