काठमाडौं। सरकारले स्थल, हवाई, रेल, पानी जहाज र केबुलकार सेवालाई एकीकृत गर्ने लक्ष्य लिएको छ। सरकारले बिहीबार सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमबाट यातायात क्षेत्र सुदृढ र व्यवस्थित गर्न एकीकृत विकासको लक्ष्य लिइएको जनाएको हो।
त्यसैगरी सरकारले पूर्वपश्चिम राजमार्गलाई ४ लेन तथा काठमाडौँ उपत्यकाको रिङरोड ८ लेनमा विस्तारको कामलाई यथासिघ्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। हुलाकी राजमार्गलगायत पूर्वपश्चिम लोकमार्ग, उत्तर दक्षिण करिडोर तथा व्यापारिक मार्गहरुलाई प्राथमिकता लिने समेत सरकारको लक्ष्य छ ।
साथै सरकारले पुँजीगत खर्च बढाउन ठेक्कापट्टाको निर्णयलाई पारदर्शी, जबाफदेही र छिटो छरितो बनाउने भएको छ।
सरकारले भौतिक पूर्वाधार विकासका लागि तीन तहको सहकार्य नीति लिने भएको छ। संघले राष्ट्रिय गौरव, रुपान्तरणकारी, रणनीतिक महत्त्वका ठुला योजना सञ्चालन गर्ने, मझौला र साना आयोजनाहरु प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने नीति लिएको छ।