काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन भएको छ।
सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षमा पाँच सदस्यीय समिति गठन गरेको हो।
समितिका सदस्यहरुमा ओम गुरुङ (क्याप्टेन), टिकाराम राई (सञ्चारकर्मी), पियुस आनन्द (वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट) र सहारा न्यौपाने रहेका छन्।
निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्न अध्ययन समितिले अध्ययन प्रतिवेदन तयारी गरी मन्त्रालयमा पेश गर्नेछ। आर्थिक रुपमा निकै कमजोर अवस्थामा पुगेको निगमले जहाज खरिदबापतको झण्डै ५० अर्ब ऋणभार बहन गरिरहेको छ।
बजार विस्तार र व्यवसायिक योजना ल्याउन नसक्दा निगमले व्यवसायिक सफलता हासिल गर्न सकेको छैन। पर्याप्त जहाज नहुँदा अन्तर्राष्ट्रिय गन्तव्य विस्तार र बजारीकरण प्रभावकारी हुनसकेको छैन।