काठमाडौं । मिटरब्याज पीडितले आन्दोलन चर्काउन थालेपछि सरकारले उनीहरूसँग वार्ता गर्न फेरि समिति बनाएको छ । मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले शुक्रबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
वार्ता समितिमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनालीलाई सदस्य तोकिएको छ ।
मिटरब्याज पीडितहरु काठमाडौं आएर आन्दोलन थालेपछि उनीहरुसँग वार्ता गरी समस्या समाधान गर्न सरकारले यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइएको थियो । आयोगले वार्ता थालेपनि ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति’ आन्दोलनलाई निरन्तरता दिँदै आएको छ । ‘मिटरब्याज पीडितको अघिल्लो समूहले आन्दोलन नरोक्ने बताएर प्रदर्शन आन्दोलन जारी राखेकै अवस्थामा पीडितहरुको फेरि अर्को समूह काठमाडौं आएर नारा जुलुश थालेका छन् ।
काठमाडौंमा मिटरब्याज पीडितहरु विभिन्न समूह थपिप्दै र आन्दोलन झन् चर्काउन थालेपछि उनीहरूको माग सुनुवाइ, छलफल र समस्या पहिचान तथा समाधान गर्न वार्ता समिति बनेको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।