भक्तपुर । महानगरपालिकाको आर्थिक सहयोगमा मध्यपुर थिमीस्थित शंखधर चोकमा निर्माण भएको शंखधर पार्कको उद्घाटन गरिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार पार्कको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि सम्बोधन गर्दै उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका मेयर शाक्यले उपत्यकाका १२ वटा नगरपालिकालाई ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्दै आएको जानकारी दिए ।
प्रमुख शाक्यले कोही एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको सहकार्यमा मात्रै काठमाडौँ उपत्यका र समग्र देशको विकास गर्न सकिने सन्देश दिन यस्तो कार्यक्रम अघि बढाएको बताए ।
काठमाडौँ महानगरपालिकाको उक्त सहयोगबाट करीब १९ रोपनी क्षेत्रफलमा पानीको झरना, झुण्डिएको बगैँचा, ढुंगेधारा, डवली, वाकिङ रोड निर्माण भएको हो । काठमाडौँ महानगरपालिकाको दुई करोड र मध्यपुर थिमीको चार करोड गरी जम्मा ६ करोडमा उक्त पार्कको निर्माण भएको बताइएको छ ।