काठमाडौं। मेलम्चीको पानी चुहावट भइ खानेपानी वितरणमा देखिएको समस्या समाधानका लागि त्रिपक्षीय सम्झौता गरिएको छ। भक्तपुर नगरपालिका, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
अरनिको राजमार्ग खण्डको सूर्यविनायक बाराही चोकबाट जगाति हुँदै सूर्यमढीसम्मको खानेपानीको पाइप लाइन विस्तार तथा जडानकार्य गर्न अनुमानित खर्च हुने बजेट नगरपालिका र खानेपानी लिमिटेडले व्यहोर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नगरपालिका क्षेत्रमा मेलम्ची खानेपानी वितरण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने क्रममा बाराहीस्थान–जगाती, च्याम्हासिंहबाट सूर्यमढीसम्म खानेपानीको पाइप बिछ्याउने, अन्य विभिन्न स्थानमा पाइप बिछ्याउने कार्यमा नगरपालिकाद्वारा गरिने खर्च रकमलाई काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सेयर खरिदमा रुपान्तरण गर्न आवश्यक पहल समेत गरिने भएको छ ।
पाइप लाइन विस्तार कार्य गर्ने क्रममा सडक, खानेपानी, ढलको पाइप लाइन एवं अन्य कार्यको खर्च नगरपालिकाबाट व्यहोरिने र कामको गुणस्तर कायम गर्न प्राविधिक सहयोग खानेपानी लिमिटेडबाट गरिने विषयमा समझदारी भएको छ ।