काठमाडौं। काठमाडौं महानगरपालिका ७ मा मैजुबहाल पार्क बन्ने भएको छ। आइतबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त पार्कको शिलान्यास गरेका छन्।
५३ लाख ६२ हजार ३ सय रुपैयाँ लागत अनुमान गरिएको पार्क निर्माणका लागि शारदादेवी कन्स्ट्रक्सनले ३३ लाख ६५ हजार १९२ रुपैयाँमा कबोल गरेको छ। निर्माण पक्षलाई गत असोज ६ गते कार्यादेश दिइसकिएको छ। आउँदो चैत मसान्तभित्र निर्माण सम्पन्न गरिसक्ने गरी कामको जिम्मा दिइएको प्रमुख शाक्यले बताए।
स्थानीयले मागेका र विवाद नभएका सबै योजनामा हामीले बजेट उपलब्ध गराएका छौँ, निर्माणपछि सञ्चालन व्यवस्थापनको जिम्मा पनि स्थानीयलाई नै हस्तान्तरण गरेका छौँ, कमलपोखरी पुनःनिर्माण भइसकेको उनले बताए।
शिलान्यास कार्यक्रममा महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले खुला ठाउँ बचाएर पार्क बनाउने महानगरको नीति कार्यान्वयनमा आएपछि धेरै ठाउँका खुला क्षेत्र बचाउन सकिएको बताइन्।
वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले आफूले सन्तुलित र व्यवस्थित विकास तथा सेवा प्रवाहका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गरे। उनका अनुसार सडक किनारामा रहेको करिब २ रोपनी क्षेत्रफलमा पार्क निर्माण हुनेछ।