काठमाडौं। समिट होटल र अपार्टमेन्ट निर्माणको काम रोकिएको छ। ललितपुरको कुपण्डोल हाइटमा अपार्टमेन्ट निर्माणको क्रममा घर भासिएका पीडित, ललितपुर महानगरपालिका र समिट होटलबीच सहमति भए सँगै तत्कालका लागि निर्माण कार्य रोकिएको हो।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको रोहबरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी, वडा नम्बर १ र २ का वडाध्यक्ष, होटल समिट र पीडित पक्षबीच १२ बुँदे सहमति भएको छ।
सहमति अनुसार भत्किएका घरको मर्मत र निर्माण कम्पनीले गर्ने भएको छ। त्यसैगरी भासिएका कारण बन्द रहेको होटल ग्रिनविचमा काम गर्नेहरुलाई खान बस्नको व्यवस्था गर्ने तथा तत्कालका लागि समिट होटल एण्ड अपार्टमेन्टको निर्माण कार्य रोक्ने भएको छ।
त्यसैगरी तत्काल राहत तथा पुनःस्थापनाको काम अघि बढाउन पीडकको पक्षबाट एक करोड रुपैयाँको ‘र्यापिड रिलिफ फण्ड’ स्थापना गर्ने समेत निर्णय भएको छ।
बैठकले प्रभावितहरुको समस्या तत्काल समाधानका लागि सहजीकरण गर्न ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ । समितिमा महानगरपालिकासहित पीडित र पीडक दुवै पक्षको सहभागिता रहेको छ।
ललितपुर महानगरपालिकाको वडा नम्बर १ र २ मा पर्ने बखुण्डोलमा रहेको तत्कालीन समिट होटल रहेको ठाउँमा अपार्टमेन्ट निर्माण गर्ने क्रममा गत शुक्रवार राति जमिन भासिएपछि घरहरुमा क्षति पुगेको छ । ६ वटा घरहरू पूर्ण रूपमा प्रभावित भएका छन् भने अरु थुप्रै घरहरू समेत जोखिममा परेका छन् । जमिन भासिएका कारण स्थानीयवासी घर छाडेर भाग्न बाध्य भएका छन् ।