सप्तरी। सप्तरी जिल्लाका विभिन्न स्थानबाट विद्युत चोरी गरेको आरोपमा प्रहरीले एक महिनामा १३१ जनालाई पक्राउ गरेको छ। प्रहरीले चोरीको आरोपमा मंगलबार मात्र ६ जनालाई पक्राउ गरेको हो।
मंगलबार पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका –४ लालापट्टीका ६० वर्षीय शत्रुधन यादव, लालापट्टीका ५८ वर्षीय राजेन्द्रप्रसाद यादव, लालापट्टीका ५० वर्षीय रामचन्द्र रजक, वडा ५ लोखरमका ४० वर्षीय शिवशङ्कर पण्डित, लोखरमका ५५ वर्षीय गङ्गा सुतिहार र लोखरमका २५ वर्षीय गणेश मेहता छन् ।
विद्युत प्राधिकरण राजविराज वितरण केन्द्र राजविराज र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। विद्युतीय पोलबाट हुकिङ्ग गरी विद्युत प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेकाबाट प्रति व्यक्ति १५ हजार ५ सयका दरले जरिवाना असुल गरिएको जानाएको छ।