डोटी। डोटीको दीपायलमा पहिलो पटक बृहत लिफ्ट सिँचाइ आयोजनाको निर्माण गर्न सुरु गरिएको छ। ६० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजना २०८० सालसम्म पूरा हुने गरी निर्माण थालिएको हो।
जिल्लाको दीपायल सिलगढी नगरपालिकाले वडा नम्बर १, २ र ३ का लागि बासुधारास्थित सेती नदीको पानी उपयोग हुने गरी बृहत लिफ्ट सिँचाइ आयोजनाको निर्माण गर्न लागेको हो।
लिफ्ट सिँचाइ आयोजना निर्माणपछि सेती नदीको पानी २ सय मिटर उचाइमा लगेर रिजर्भ गरिनेछ । यसरी रिजर्भ गरिएको पानीबाट करिब ३ हजार घरधुरीले खेतबारी सिँचाइको सुविधा पाउनेछन् ।
सिँचाइ सुविधापछि व्यावसायिक तरकारी खेतीबाट कृषकहरूको आयस्तर बढाउने अपेक्षा छ। यो आयोजना सञ्चालनमा आएपछि सिँचाइका लागि पावर डिप स्यालो ट्युबेल जडान गरिनेछ ।