काठमाडौं। महोत्तरीको लोहारपट्टी नगरपालिका– ६ का २१ वर्षीय मोबारक नदाफलाई पोलमा बाँधेर मोसो दल्ने निर्माण व्यवसायी पक्राउ परेका छन्।
गत चैत २३ गते ज्याला माग्दा आफ्नै मजदुर नदाफलाई पोलमा बाँधेर मोसो दलेको आरोपमा निर्माण व्यवसायी आनन्द मिश्र पक्राउ परेका हुन्।
मिश्रलाई नियन्त्रणमा लिएर अपमानजनक तथा अमानवीय व्यवहार कसुर मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । पिडितका हजुरबुबा गफुर नदाफले सोमबार दिएको जाहेरीको आधारमा प्रहरीले मिश्रलाई नियन्त्रणमा लिई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद लिएर अनुसन्धान थालेको छ ।
मिश्रसँग काम गरेका नदाफले ज्यालासहितको हिसाब पटकपटक माग्दा पनि नपाएपछि आफ्नो पारिश्रमिक बराबर फलाम काट्ने मेसिन र पंखा लिएर गएको र मिश्रले चोरीको आरोपमा नदाफलाई पोलमा हात बाँधेर मोसो दली कुटपिटका साथै नगरभरी घुमाइएको थियो।