काठमाडौं। नारायणी सिँचाई व्यवस्थापन कार्यालय वीरगंज गण्डक नहरीको संरचना भत्काएर संघन शहरी भवन कार्यालय वीरगंजले नियमविपरित सडक निर्माण गर्न सुरु गरेको छ। शहरी भवन कार्यालयले गण्डक नहरको ब्लक ७ को मेन सेकेन्डरी क्यानल (एमएससी) को संरचना भत्काएर १० मिटर चौडाईमा नालासहितको कालोपत्रे सडक निर्माण सुरु गरेको हो।
स्रोतका अनुसार चार वर्ष पहिले ठेक्का लागेको संघन शहरी तथा मझौला आयोजना अन्तर्गत वीरगंज महानगरको ९ वटा वडाभित्र ५२ किलोमिटर नालासहितको सडक निर्माण कार्यको ठेक्का लागेको थियो। अहिले उक्त आयोजनाको काम अधिकांश वडामा अपुरो छ। लक्षुमानवाको काम वीरगंज घण्टाघरका ठेकेदार अनिल गुप्ता सञ्चालक रहेको महाबीर कन्सट्रक्सनले ठेक्का लिएको हो। दीपावली र छठको सार्वजनिक बिदाको मौका पारी ठेकेदार पक्षले नहरीको संरचना भत्काएको र नहरीको डिलमा रहेको सिसौंको रुख पनि काटेको छ।
नारायणी सिचाई व्यवस्थापन कार्यालय वीरगंज गण्डकका प्रमुख प्रसुन मिश्रका अनुसार नहरीको संरचनाको लागि विसं २०३० सालमा सिचाई कार्यालयले जग्गाको साढे ४ किलोमिटर लम्बाई र १३ मिटर चौडाई जग्गाको क्षेत्रफलको मुआब्जा दिएर अधिग्रहण गरी किसानको खेतमा सिचाई गर्दै आएको थियो। उक्त नहरीबाट हजारौ विघा खेत सिचाई हुँदै आएकोमा अहिले सडक निर्माण भएपछि सयौं किसान मारमा पर्ने देखिन्छ। नारायणी सिँचाईका इन्जिनियर सुबोध कुशवाहाले यस बारेमा स्थानीय प्रशासन, वीरगंज महानगर र अन्य सरोकारवाला निकायलाई पत्राचार गरी गैरकानुनी किसिमले भइरहेको निर्माण कार्यलाई रोक लगाउने र बाँकी कारवाहीको लागि माथिल्लो निकायलाई तस्बिरसहित सिफारिस गर्ने बताए।
वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले वीरगंज महानगरमा थुप्रै ठाउँमा नहरी पुरेर सडक बनाइएको उदाहरण रहेको बताए। उनले जुन ठाउँमा नहरको पानी नै आउँदैन, त्यस संरचनामा सडक निर्माण भयो भने स्थानीयलाई आवतजावतको लागि सहज हुने भनेर विकासको योजना अघि बढाएको प्रतिक्रिया दिए।