पाल्पा। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सोमबार बिहानै खसेको सुख्खा पहिरोले अवरुद्ध भएको छ। राजमार्गको तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडिको भागमा ठूलो ढुंगासहितको सुख्खा पहिरो खसेको हो।
सोमबार बिहान ५ बजेतिर सडकको माथिल्लो भागबाट ठूलो ढुंगासहित खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकीले जानकारी गराएको छ। पहिरो पन्छाएर एकतर्फी खुलाउने प्रयास गरेपनि ढुंगा ठूलो भएकाले नसकिएको दोभान प्रहरीका चौकी प्रमुखले जनाएका छन्।
सडक डिभिजन पाल्पालाई ढुंगा फुटाउनका लागि आग्रह गरिएको भएपनि काम सुरु भइसकेको छैन। सो राजमार्गको छेउबाट मोटरसाइकल वारपार गर्न सकिएपनि अन्य सबै सवारी साधन ठप्प रहेको छ। राजमार्ग भएर स्याङजा, पोखरा, गुल्मी, बाग्लुङ, पाल्पाकै विभिन्न स्थान हिडेका सय बढी सवारीसाधन लामबद्ध भएको त्यहाँका एक स्थानीयले जानकारी दिएका छन्।
उक्त राजमार्गको दोभान र सिद्धबाबा क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ। सडक डिभिजनले राजमार्ग स्तरोन्नतिका लागि बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग बन्द गर्ने भएकाले सयौं सवारीसाधन जाममा परेका हुन्। त्यस्तै निर्माण व्यवसायीले कामै नगरेपनि सडक डिभिजनले भने सडक रातीको समयमा बन्द गरेको सूचना प्रकाशन गरेको छ। विगत एक सातादेखि रातिको समयमा सो राजमार्गमा सवारीसाधन संचालन गर्न दिइएको छैन।