काठमाडौं। पाँच जलविद्युत् आयोजना निर्माणका लागि साढे एक खर्ब भन्दा बढी रकम लगानी स्वीकृत भएको छ। लगानी बोर्ड नेपालले पाँच आयोजनाका लागि एक खर्ब ६७ अर्ब ५९ करोड लगानी स्वीकृत गरेको हो ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५३औँ बैठकले एक खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र २१ अर्ब ३७ करोड स्वदेशी गरी कुल एक खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।
लगानी स्वीकृति प्राप्त आयोजनाहरूमा ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ, १०२ मेगावाटको माथिल्लो मस्र्याङ्दी–१ जलविद्युत् परियोजनाका लागि ३३ अर्ब १९ करोड, ७० मेगावाटको दूधकोशी–२ (जलेश्वर) जलविद्युत् परियोजनाका लागि २० अर्ब ३५ करोड, ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत् परियोजनाको १३ अर्ब ४४ करोड र ४३ मेगावाटको अप्पर मादी खोला जलविद्युत् परियोजनाका लागि सात अर्ब ९३ करोड लगानी स्वीकृत गरेको बोर्ड कार्यालयले जनाएको छ ।
बोर्ड बैठकले माथिल्लो अरुण परियोजनाको विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्तावेज तयार पारेर बोर्डसमक्ष पेस गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति पनि गठन गरेको छ ।