काठमाडौं। नेपालगञ्जमा यति बेला व्यवसायी पलायन हुने क्रम बढेको छ। यति बेला नेपालगञ्जमा ठूला साना सात सय हाराहारी व्यवसायीमा पाँच सयले मात्रै दर्ता नवीकरण गरेका छन्।
आर्थिक मन्दी र बैंकको ऋणका कारण व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ। होटल व्यवसायी संघ बाँकेका अनुसार मन्दीले व्यवसाय छाड्ने अवस्था आएको छ।
व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको व्यवसायीको भनाइ छ। एकातिर आम्दानी घट्दै छ, अर्कातिर लगानी गर्ने वातावरण नभएकाले व्यवसायी दिनप्रति दिन मर्कामा पर्न थालेको संघले जनाएको छ।
पछिल्लो समय जिल्लामै ४० प्रतिशतले व्यवसायमा कमि आएको व्यवसायीहरु बताउँछन्।
व्यवसायीलाई माथि उठाउन नेपाल सरकारले बैंकसँग सहकार्य गरेर बढेको ब्याजदर घटाइदिने व्यवस्था गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ। आर्थिक मन्दीको समयमा घरबेटीले पनि घर भाडा बढाउनुको साटो घटाइदिए व्यवसायीलाई राहत हुने उनीहरुको भनाइ छ।
नेपालगञ्जका होटेल व्यवसायी मात्र नभई यहाँका साना ठूला सबै व्यापारी पनि बैंकले ऋण प्रवाह नगर्दा लगानी थप्न नसकेको भन्दै उनीहरू मर्कामा परेका छन्। नेपालगञ्जका मुख्य बजार क्षेत्रमा दिनप्रति दिन सटर खाली हुन थालेका छन्।