काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम (आइएलएस) बाट जहाज अवतरण गर्न सकिने नेपालकै पहिलो विमानस्थल हुने भएको छ। नागरिक उडड्यन प्राधिकरणले यो विमानस्थलमा पहिलोपटक इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टमको प्रविधि जडान गरेको हो।प्राधिकरणका अनुसार सञ्चालनमा रहेका नेपालका ३५ वटै विमानस्थलहरुमा प्रविधिको सहयोगमा जहाज अवतरण गर्न सकिने व्यवस्था छैन। एक मात्र अन्तराष्ट्रिय उडान गर्दै आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत यो सुविधा छैन।
इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान गर्न जहाज १० माइल टाढादेखि तीन डिग्रीमा आउनु पर्ने हुन्छ त्यसैले भौगोलिक अवस्था र प्राविधिक कठिनाइका कारण नेपालका अधिकांश विमानस्थलहरुमा यो प्रविधि जडान हुन नसकेको वरिष्ठ पाइलट ददिराम निरौलाले जानकारी दिएका छन्। नवनिर्मित विमानस्थलहरुमा भने यो प्रविधि जडान गर्ने तयारी गरेको नागरिक उडड्यन प्राधिकरणका महानिर्देशकले जानकारी दिएका हुन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान गर्ने प्राधिकरणले जनाएको छ।
तलमाथि, दायाँबाँया सबै जानकारीसहित सिष्टम जडान हुने भएकाले यो प्रविधि जडानसँगै जहाज अवतरण र उडानका लागि सहज हुने र दुर्घटना हुनबाट समेत जोगिने पाइलट निरौलाको भनाइ रहेको छ। आजसम्म सबै जहाजहरु आँखाले हेरेकै भरमा अवतरण र उडान गर्दै आएको उनलेले जनाएका छन्। त्यस्तै भारतका सतप्रतिशत विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान छ। प्राधिकरणले निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान गरेसँगै यसको जाँच गर्न दक्ष प्राविधिकबाट क्यालिब्रेसन उडान गर्ने तयारी गरीएको छ।