मोरङ। विराटनगर महानगरपालिकाको पार्किङस्थलमा सिसी क्यामेरा जडान गरिएको छ। पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले महानगरले सिसी क्यामेरा जडान गरेको हो।
व्यापारीले पार्किङस्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्दै आएका थिए।
पार्किङस्थललाई व्यवस्थित बनाउन व्यापारीहरूकै आग्रहमा केही दिनका लागि सडकको नो पार्किङको निर्णयलाई महानगरले स्थगन गरेको थियो। अब व्यवस्थित र सुरक्षित भइसकेकाले पूर्ववत् अवस्थामै सडकलाई पार्किङ निषेध गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए।
सिसी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय र महानगरको नगर प्रहरी शाखामा रहनेछ। प्रमुख कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले कन्ट्रोल रुममा जडान गरिएको सिसी क्यामेरामार्फत पार्किङस्थलको अवलोकन समेत गरेका छन्।
सिसी क्यामेरा जडानसहित पार्किङस्थलमा गिट्टी राखेर सम्याउने, बत्ती जडान गर्ने, पार्किङस्थलमा जाने नालीमाथि स्लाब राख्नेलगायतका कार्य सकिएको महानगर प्रहरीले जनाएको छ।