काठमाडौं। राष्ट्रिय गौरवको आयोजना अन्तरगतको सेती लोकमार्ग १३ वर्षमा पनि नबनेपछि अछामका सांसद शेरबहादुर कुँवर प्रतिनिधिसभामा कड्किएका छन्।
राष्ट्रिय गौरवको आयोजना अन्तरगतको सेती लोकमार्ग माधवकुमार नेतृत्वको सरकारले आर्थिक वर्ष २०६६, ०६७ मा बजेट छुट्याएर निर्माण थालेको थियो । तर निर्माण थालेको १३ वर्ष बित्दा पनि सेती लोकमार्ग अझै पूरा हुन सकेको छैन । सेती लोकमार्ग लामो समयसम्म निर्माण पूरा नभएपछि अछाम १ का सासद कुँवरले मंगलबार प्रतिनिधिसभा बैठकमा बिशेष समय लिएर त्यसलाई उठाएका हुन्।
‘राष्ट्रिय गौरवका यस्ता आयोजनाका कामहरुले पनि गति लिन नसक्ने हो भने हामीप्रति आम नागरिकको धारणा कसरी सकारात्मक हुन्छ सभामुख महोदय’ बैठकमा उनले भने । सांसद कुँवरले वातावरण अध्ययन लगायतका विभिन्न बाहना बनाएर सेती लोकमार्ग निर्माणमा ढिलाई गरिएको धारणा व्यक्त गरे ।
कुँवरले सेती लोकमार्गको नामाकरण हुँदा आफू तत्कालीन संविधानसभाको सदस्य रहेको समेत स्मरण गराए। उनले त्यसपछिका सरकार सेती लोकमार्गप्रति उदासिन रहेको उल्लेख गर्दै निर्माण छिटो पूरा हुनुपर्नेमा जोड दिए।
सेती लोकमार्ग निर्माण सम्पन्न गरेर संचालनमा ल्याउन सके ताक्लाकोट– मानसरोवर जाने पर्यटकहरुको सजिलो हुने सांसद कुँवरको भनाई छ । ‘सेती लोकमार्ग ताक्लाकोट– मानसरोवर जाने पर्यटकहरुको लागि सबै भन्दा छिटो छरितो दूरीको सडक हो’ उनले भने– सेती लोकमार्ग छिटो सम्पन्न गर्ने हो भने आन्तरिक तथा बाहय पर्यटक समेत बढ्छ । यसबाट स्थानीयवासीको आम्दानीको श्रोत समेत बढ्छ ।’ सांसद कुँवरका अनुसार सेती लोकमार्ग सम्पन्न गर्न २० वटा पुल बनाउनुपर्छ । अहिलेसम्म त्यस मध्येका ३ पुलको ठेक्का लगाएर निर्माण कार्य अघि बढेको छ । थप ३ पुलको बिस्तृत लागत विवरण (डिजाइन इष्टमेट) तयार भए पनि ठेक्का लगाउने काम भएको छैन । बाँकी १४ पुलबार अहिलेसम्म कुनै प्रक्रिया भएको छैन ।
सांसद कुँवरले सेती लोकमार्ग अन्तरगत कैलाली,अछाम र बझाङ खण्डमा सडक निर्माणको क्रममा ठाउँठाउँमा भीर तथा चट्टान काट्ने कार्य भइरहेको जानकारी दिँदै त्यसको लागि प्रयाप्त बजेट व्यवस्था गर्न सरकारसँग आग्रह समेत गरे।