काठमाडौं। पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पुल निर्माण गरिएको छ। उक्त विकट क्षेत्रमा पक्की पुल निर्माण गरिएको हो।
४ करोड ४८ लाख लागतमा निर्माण गरिएको सो पुल जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले निर्माण गरेको हो। पुलको लम्बाइ ४६ मिटर रहेको छ । पैदलमार्गसहित दुईतर्फी पुल सञ्चालनमा आएसँगै पूर्वखोला तथा निस्दी क्षेत्रका वासिन्दालाई सहज भएको स्थानीयले बताए।
उक्त पुलको उद्घाटन लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास, खानेपानी तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यले मंगलवार गरेका छन्।
पुलको अभावमा सो स्थानका स्थानीयले ठूलो समस्या भोग्दै आएका थिए। यतिसम्मकी आफुले उत्पादन गरेको सामग्री बजारमा पठाउन समेत समस्या भएको थियो। पुल निर्माण भएपछि सबै समस्याको समाधान भएको भन्दै स्थानीयले खुशी ब्यक्त गरे।