काठमाडौं। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउन माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन्।
उनले मुलुकको सबैभन्दा ठूलो सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नचाहेको देखिएको उल्लेख गर्दै त्यसको कारणबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने समेत बताए।
उनले भने, ‘‘राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना अलपत्र अवस्थामा रहेको छ। आयोजना निर्माणका लागि मोडालिटी पनि तयार भइसकेको छ। अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण सेयर होल्डर बनेर यसको निर्माण कम्पनी पनि बनिसकेको छ। यो ठूलो कम्पनी हो। यो आयोजना निर्माणका सरकारको ध्यान पुगेन।अहिलेसम्म पनि अलमलमै छ।म सभामुखमार्फत यो आयोजना तत्काल निर्माण गर्ने गरी सुरुवात गरियोस् भन्छु।म सरकारलाई चाँडो भन्दा चाँडो यो रोष्टममा आएर उभिएर हामी यो अवधिमा आयोजनालाई सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गर्छौँ भनेर बोल्नका लागि सभामुखबाट रुलिङहोस् भन्ने माग गर्न चाहन्छु ।’