संखुवासभा। तुम्लिङटार विमानस्थल गत एक सातादेखि अवरुद्ध छ। विमानस्थललाई तुवाँलोले ढाकेकाले गत सोमबारदेखि निजी क्षेत्रका विमानले उडान भर्न नसकेका हुन्।
भिजिबिलिटी कम भएपछि दैनिक उडान अवरुद्ध हुँदै आएको विमानस्थलले जनाएको छ ।
यो विमानस्थलमा कम्तीमा ३५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । जहाजबाट उडान भर्न लागेका कोही यात्रु सडक मार्गबाट गन्तव्यमा पुग्ने गरेका छन् । कोही विमानस्थल खुल्ने दिन पर्खेर बसेका छन् । उडानका लागि हप्तौंअघि टिकट बुकिङ गरेर बसेका यात्रुहरू अलपत्र परिरहेका छन्।
तुम्लिङटार विमानस्थलमा बुद्ध एयर र गुण एयरको विमानले उडान भर्दै आएका छन् । उडान नभएपछि बिरामीहरू सडकमार्ग भएर हिड्न पर्दा बढी समस्यामा परेका छन्।