काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रका लगानीकर्तालाई उर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्। राजधानीमा ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले नेपालको ऊर्जामा लगानी गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका हुन्।
उनले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै विद्युत् निर्यात हुन थाल्नु खुसीको विषय भएको बताए ।
उनले भने, ‘नेपालको ऊर्जामा लगानी गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दछु। लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ। सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको हुनाले इन्सेन्टिभ दिन तयार छौं। निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीकै कारण अहिले देशको गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो।’
सरकारले विद्युत् निर्यात गर्न बलियो संयन्त्र बनाउने उनले बताए । विद्युत्का लागि अर्को ठूलो बजार बंगलादेशमा पनि निर्यात गर्न सकिने उनको भनाइ छ ।