काठमाडौं। पर्वतको जलजला गाउँपालिकाको वारिबेनीदेखि मल्लाज जोड्ने सडक आयोजना सम्झौता अवधिभन्दा अगाडीनै सम्पन्न भएको छ। सो सडक निर्माण सम्झौता गरिएको समयभन्दा एक महिना अगाडीनै सम्पन्न भएको हो।
वारीबेनी–मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्याबियन र मेसिनरी पर्खाल निर्माण गर्न गण्डकी प्रदेश सरकारले एक करोड र जलजला गाउँपालिकाले एक करोड विनियोजन गरेका थिए । उक्त सडक निर्माणको जिम्मा कालिका इन्फ्रास्टक्चर प्रालिले एक करोड १५ लाखमा पाएको थियो। निर्माण कम्पनीले समय अगावै सडक निर्माण सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ। वैशाख २५ गतेसम्म सम्झौताको म्याद थियो। समय सकिनु अगावै निर्माण कम्पनीले आयोजना सम्पन्न गरेका छन्।
विभिन्न ठाउँमा ४०७ मिटर सडक ढलान र नाली निर्माण भएको छ। पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै सडक निर्माण गरेको निर्माण कम्पनीले बताएको छ। तीन किलोमिटर दुरीको वारिबेनी मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएपछि यात्रा सहज भएको भन्दै थानीयले खुशी व्यक्त गरेका छन्।
विकास निर्माणका आयोजना कतिपय विभिन्न कारणले अलपत्र र कतिपय वर्षौंसम्म पनि पूरा हुन नसकेका समाचार आइरहेका बेला उक्त एक सडक आयोजना भने सम्झौता अवधिभन्दा एक महिना अगावै सम्पन्न भएको हो।