काठमाडौं। नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्।
दुवै स्थानीय तहले बिहीबार एक विज्ञप्ति जारी गर्दै १५ दिनभित्र माग पूरा नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी दिएका छन्।
गत वर्ष शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाका वडाअध्यक्ष र स्थानीय सरोकारवालहरुबीच विभिन्न सम्झौता भएको थियो। दुई नगरपालिकाले सम्झौता अनुरुपका बुँदाहरु तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै ७ बुँदे प्रस्ताव अघि सारेका छन् ।
फोहोर मैला व्यवस्थापनका लागि वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरी न्युन प्रभाव पर्ने फोहोरमैला व्यवस्थापन गर्न र बञ्चरेडाँडाबाट निस्किएका फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने, सिसडोल र बञ्चरेडाँडामा के कस्ता प्रकृतिका इआइए गरियो, कति गरियो, कार्यान्वयनको अवस्था कस्तो रह्यो र कुन कुन निकायबाट इआइए गरियो सोको जानकारी उपलब्ध गराउनुपर्ने, ककनी गाउँपालिका र धुनिवेशी नगरपालिका वडाहरुमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासका लागि बजेट विनियोजन गर्नुपर्ने लागयतका माग राखिएको छ ।