काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नं ८ स्थित बालकुमारी मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास गरेकी छन्। सोमबार बिहान उनले मन्दिर पुनर्निर्माणको आरम्भ गरेकी हुन्।
तीनै तहको सरकारको मद्दतले मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गर्ने विश्वास दिलाउँदै स्थानीय तहले विशेष पहल लिएको छ र तीनै तहको सरकारको मद्दतमा तोकिएको समयमै पुनर्निर्माण कार्य सम्पन्न गरिने कुरा मन्त्री भुसालले जानकारी गराएकी छिन्।
करिब ३८८ वर्ष पहिले पुनर्निर्माण भएको मन्दिरको अन्वेषण आवश्यक रहेको बताउँदै उनले जीवन संस्कृतिसँग जोडिएको कारण पुनर्निर्माणसँगै यस मन्दिरको ऐतिहासिक अन्वेषण हुने जनाएकी हुन्। त्यस्तै कला सम्पदाले देशको सामाजिक सद्भाव र राष्ट्रको सवर्द्धन गरेर पर्यटन क्षेत्रको लाभ लिनुपर्नेमा जोड दिँदै उनले सम्पदाले देशको आर्थिक, सामाजिक विकासमा सहयोग पुर्याउने जनाइन्।
ललितपुर कला, संस्कृति र सम्पदाले भरिपूर्ण भएको जिल्ला भएकाले यसको सही सदुपयोग गरेर यहाँका बासिन्दा र राष्ट्रले नै फाइदा लिनुपर्ने कुरामा उनले जोड दिएकी छिन्। पुनर्निर्माण भएका सम्पदा भावी पुस्तालाई सहीरूपमा हस्तान्तरण गर्न सके कला संस्कृतिको जगेर्ना हुने उल्लेख गर्दै उनले भक्तालु, श्रदालु एवं सम्पदाप्रेमीलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग पुर्याउन आग्रह पनि गरेकी छिन्।