इलाम। इलामको माई नगरपालिका–२ मा सार्वजनिक जग्गा मिचेर व्यक्तिले निर्माण गरेको फनपार्क हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रचार गरेको छ।
वन र खोलाको सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको फानपार्कको जग्गा खाली गर्न अख्तियारले जिल्लाका निकायलाई पत्राचार गरेको हो।
अख्तियारको इटहरीस्थित कार्यालयले जिल्ला प्रशासन कार्यालय, वन डिभिजन र माई नगरपालिकालाई पत्राचार गरी पार्कले ओगटेको सार्वजनिक जग्गा खाली गराइ त्यसको सुरक्षा, संरक्षण र सम्वर्धन गराउन भनेको प्रहरीले जनाएको छ।
सार्वजनिक जग्गा खाली गराउनेबारे बिहीबार सदरमुकाममा सर्वदलीय बैठक बसेर अख्तियारको निर्णय कार्यान्वयन गराउने निर्णय समेत भएको बताइएको छ। निर्णयपछि प्रशासन, वन, मालपोत र नापी कार्यालयको बैठक बसेर ३५ दिनभित्र पार्कले ओगटेको सार्वजनिक जग्गा खाली गर्न सार्वजनिक सूचना गर्ने निर्णय भएको बताइएको छ।
हेप्पी ड्रिम्स चेप्टी प्रालिले २ सय १८ रोपनी सार्वजनिक जग्गा ओगटेर करोडौं लगानी गरी फनपार्क निर्माण गरेको छ । यसमध्ये १ सय ३२ रोपनी पर्ती र माइखोलाको तथा ४५ रोपनी सामुदायिक वनको रहेको अख्तियारले जनाएको छ । बाँकी ४१ रोपनी मात्र प्रालिको स्वामित्वमा देखिएको छ ।