डडेलधुरा। बझाङ जिल्लाबाट डोटी, डडेलधुरा हुँदै कञ्चनपुरसम्मको पश्चिम सेती चार सय केभी विद्युत् प्रसारण आयोजनाको काम सुरु भएको छ ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले प्रस्तावित आयोजनाका लागि हाल वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण)को कार्य गर्न दुईवटा कम्पनी खटाएको छ ।
आयोजनाको काम दुई खण्डमा हुन लागेको बताइएको छ। डडेलधुराको नवदुर्गा गाउँपालिका, गन्यापधुरा गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिका भएर प्रसारण लाइन कञ्चनपुर पुर्याउने प्रस्तावना गरिएको छ । वन क्षेत्रको अध्ययन गर्न दुईवटा कम्पनीका विज्ञसहितको टोली डडेलधुरा पुगेको छ।
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत आयोजनाको काम सुरु गरिएको पत्र प्राप्त भएको वन अधिकृत रामविचारी ठाकुरले बताए।
अध्ययनका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको सेयर लगानीमा स्थापित सरकारी स्वामित्व र नियन्त्रणमा रहेको सार्वजनिक निकाय एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड र इटेको–आरआईएमसी श्रेष्ठ जेभी कम्पनीले अध्ययन थालेको छ ।