पाल्पा । पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको पहिरो पन्छाएपछि सवारी आवागमन पुन: शुरु भएको हो ।
राजमार्गको माथिल्लो भागबाट ठूलो ढुंगासहित पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । सडक डिभिजनले ब्रेकर लगाएर ढुंगा फोरेर पन्छाएपछि सवारी आवागमन पुन: शुरु भएको दोभान प्रहरी चौकीका प्रमुख विष्णु कुंवरले जानकारी दिए ।
राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडिको भागमा ठूलो ढुंगासहितको सुख्खा पहिरो खसेको थियो ।
राजमार्गको अवरोध हटाएपछि उक्त बाटो भएर स्याङजा, पोखरा, गुल्मी, बाग्लुङ र पाल्पाकै विभिन्न स्थानतर्फ जाँदै गरेका सयभन्दा बढी सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।