लमजुङ। उदीपुर सडक दैनिक १२ घण्टा बन्द गरिएको छ। सडक मर्मतको लागि दैनिक १२ घण्टा सवारी आवतजावत बन्द गरिएको हो।
सडक मर्मतका लागि डुम्रे–बेंसीसहर सडकको बेंसीसहर नगरपालिका–१ उदीपुर देउरालीमा दैनिक १२ घण्टा सवारी आवागमन बन्द गरिएको छ ।बेंसीसहरलगायत स्थानीय तह र सिंगो मनाङ जिल्ला प्रवेशको मुख्य सडकमा पर्ने उदीपुर देउरालीको पहिरोग्रस्त क्षेत्रको मर्मतका लागि सडक बन्द गरिएको छ। डुम्रे–बेंसीसहर–चामे योजना कार्यालयले बर्खायाममा सडक सहजताका लागि बिहानदेखि बेलुकासम्म काम गर्नुपर्ने समय आंशिक बन्द गरिएको जनाएको छ।
सडक कार्यालय र जिल्ला प्रशासन कार्यालय दुवैले जारी गरेको सार्वजनिक सूचनाअनुसार हरेक बिहान ४ देखि ७ बजेसम्म ३ घण्टा सडक बन्द रहनेछ । बिहान ७ देखि ८ बजेसम्म १ घण्टा सडक खुला रहनेछ । बिहान ८ देखि ११ बजेसम्म ३ घण्टा सडक बन्द रहनेछ । बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म सडक खुला रहनेछ । मध्याह्न १२ बजेदेखि अपरान्ह साढे ४ बजेसम्म सडक बन्द रहनेछ । त्यसपछि एक घण्टा सडक खुल्ने र साँझ साढे ५ बजेदेखि बेलुकी ७ बजेसम्म फेरि सडक बन्द रहनेछ । बेलुका ७ देखि बिहान ४ बजेसम्म ९ घण्टा भने सडक खुला रहनेछ । उक्त अवधिमा सडक बन्द भएको बेला मालवाहक सवारी साधनलाई पूर्ण रूपमा रोक लगाउने र यात्रुवाहक सवारी साधनलाई मात्र उदीपुरदेखि रिट्ठेबगर हुँदै नेपाली सेनाको चण्डीप्रसाद गण, मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको ड्याम हुँदै फलियासाँघु निस्कने डाइभर्सन प्रयोग गर्न दिइने भएको छ ।