परासी। नारायणगढ–बुटवल सडक खण्डको काम आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ । चाइना स्टेट कम्पनीले अहिलेको गतिमा नै काम हुने वातावरण भएमा आगामी डेढ वर्ष भित्रमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको हो ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सासंद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा भएका ठूला आयोजनाको कामको प्रगति र सरकारले गनुपर्ने कामका विषयमा स्थलगत अनुगमन गरेर छलफल गर्ने क्रममा चाइना स्टेटको तर्फबाट पश्चिम सेक्टरका कन्ट्याक म्यानेजर जोयु हेयुले बताए ।
सांसद चौधरीले निमार्णले गति लिन नसकेका आयोजना हुलाकी सडक र बुटवल नारायणगढ सडक, प्रधानमन्त्री कृषि आधुनिकीकरण, गण्डक सिँचाइ कार्यालयका प्रतिनिधिलाई काममा परेका समस्या र आफूले गर्नुपर्ने पहलका विषयमा छलफल गरेका थिए ।
स्थानीय जनप्रतिनिधि र सांसद चौधरीले जनताले प्रत्यक्ष रुपमा विकास निमार्णको काम अगाडि बढ्न नसकेको गुनासो बढेकाले तोकिएकै समयमा काम गर्न निर्देशन दिएका थिए । ‘के कारणले काम समयमा नै नभएको हो । त्यो स्पष्ट खुलाउनुपर्यो । देशकै आर्थिक मेरुदण्डको रुपमा रहेको नारायणगढ बुटवल र हुलाकी सडकको काम वर्षौंदेखि किन सोचे अनुसार हुन सकेको छैन?’ सांसद चौधरीले भने, ‘ स्पष्ट कारण खुलाउनु पर्यो, मेरो तर्फबाट के हुनसक्छ भन्नुपर्यो । होइन भने जनतालाई सास्ती दिने काम हुनु हुँदैन ।’
आयोजना प्रमुखहरुले भने कर्मचारी अभाव, स्रोतको सुनिश्चितता र विभिन्न बहानामा हुने अवरोध नै मुख्य चुनौती रहेको भन्दै सहजिकरणका लागि आग्रह गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख रुदल यादवको अध्यक्षतामा भएको छलफलमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका कार्यालय प्रमुख र जिल्लामा संचालित ठूला आयोजनाका प्रतिनिधिको सहभागिता थियो । नारायणगढ बुटवल सडक खण्डको काम सुरु भएको पाँच वर्ष हुन लाग्दा ३० प्रतिशत मात्र काम सकिएको छ । कान्तिपुरबाट