काठमाडौ। पर्वतको दोबिल्ला–फलेवास सडकको कालोपत्रेको काम सम्पन्न भएको छ । १६ किलोमिटर लामो यो सडकको घोइनौला–चन्दनी खण्डको बुधबार कालोपत्रे सकिएको हो ।
चन्दनीदेखि ढिकसम्मको कालोपत्र गत वर्ष नै भइसकेको थियो भने घोइनौलादेखि धर्मशालासम्मको खण्डमा कालोपत्रे सकिएसँगै दोबिल्ला–फलेवास सडक कालोपत्रेको काम सकिएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । २०५७ सालमा नै ट्रयाक ओपन भइसकेको यो सडकको २३ वर्षपछि कालोपत्रे भएको हो । गण्डकी प्रदेश सरकारको रणनीतिक सडकअन्तर्गत दुई वर्षमा काम सक्ने गरी २६ करोड ५१ लाख रुपैयाँमा प्यासिफिकरफेवा जेभीले सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो ।
आठ मिटर चौडा सडकमध्ये ५.५ मिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले जानाकारी दिए । सडक कालोपत्रेको काम २०७६ कात्तिक ११ गते तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोना संक्रमणका कारण एक वर्ष ढिलाइ भएको प्यासिफिकरफेवा जेभीका प्रतिनिधि राजु पौडेलले जानकारी दिए । उनका अनुसार बुधबार सबै काम सकेर उपकरणसमेत हटाइएको छ । सडक खण्डअन्तर्गत केही भागमा ढलान गरिसकिएको छ ।
यो सडक कालोपत्रे भएपछि पर्वतको फलेवास नगरपालिकाका देविस्थान, मुडिकुवा, खानीगाउँसँगै दक्षिण पर्वतको महाशिला, पैंयु र विहादी तथा दक्षिण बागलुङका नागरिकलाई सदरमुकाम कुश्मा आउजाउ गर्न सहज भएको छ । फलेवासकै मुडिकुवादेखि लमाएसम्म यसअघि नै कालोपत्रे भइसकेको थियो । तर देविस्थानतर्फको खण्डमा अहिले कालोपत्रे भएको हो । यो सडकलाई फलेवास नगरपालिकाले पनि रणनैतिक आयोजनाको रूपमा समेत अघि सारेको थियो । मध्यपहाडी राजमार्गसँग जोडिएको यो दोबिल्ला–फलेवास सडक खण्डअन्तर्गत दोबिल्लादेखि मल्यांङ्दी खोलासम्मको सडक पाँच वर्षअघि नै कालोपत्रे भइसकेको हो भने मल्यांङ्दी खोलादेखि घोइनौलासम्मको झण्डै एक किलोमिटर सडक गत वर्ष कालोपत्रे भएको थियो ।
कुश्माबजारलाई दक्षिण पर्वतका चार पालिकासँग जोड्ने अधिकांश सडक कालोपत्रे भए पनि मोदीखोलामा रहेको मोटरेबल पुल जीर्ण हुँदा सवारीसाधन र यात्रुले सास्ती बेहोर्न बाध्य बनेका छन् । पछिल्लो समय मोटरेबल पुल निर्माणका लागि प्रकृया पनि सुरु भएको छ । कारोबार दैनिकबाट