काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँ जलविद्युत् आयोजनाको काम चाँडै सक्न आग्रह गरेका छन् । आइतबार तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘महत्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ ।’ घिसिङले बाँधको निर्माण कार्य ढिलाइ भएको उल्लेख गर्दै यसलाई प्राथमिकता दिएर काम अगाडि बढाउन निर्देशन दिए । कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरण श्रेष्ठले आयोजनाको प्रगतिबारे जानकारी गराएका थिए ।
आयोजनाले तीन वटै प्याकेजका कामलाई निरन्तरता दिइरहेको छ । प्याकेज १ अन्तर्गत नदी फर्काउने, बाँध निर्माणलगायतका कामका लागि तयारी थालिएको छ । उक्त कामका लागि आयोजनाले सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो ।