नवलपरासी। सडक समयमै नबन्दा धुलोले समस्या निम्त्याएको भन्दै स्थानीयबासीले आन्दोलन गरेका छन्। समयमै सडक नबन्दा धुलोका कारण सास्ती खेप्नु परेको भन्दै पाल्हिनन्दनका बासिन्दाले आइतबार बिहान महेशपुर–परासी सडकखण्डको हरपुरा चोक बन्द गरेका हुन्।
उनीहरुले बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरेका थिए।
पाल्हिनन्दन–२ हरपूर का मुकेश गुप्ताले सडकका कारण आफूहरूले धेरै समस्या भोगेको बताएका छन् । सडक अस्तव्यस्त हुँदा गाडीले धेरै धुलो उडाएर आफूहरू बस्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ।
समाधानका लागि वडा कार्यालय पाल्हिनन्दन गाउँपालिका र वाड अध्यक्षलाई पटक पटक जानकारी गराउँदा समेत सुनुवाइ नभएपछि बाध्य भएर सडक बन्द गर्नु परेको उनीहरुको भनाइ छ।
‘गाउँपालिकालाई सडक बनाउने अधिकार त छैन तर सडकमा उडेको धुलो नियन्त्रण गर्न पानी हाल्न त सक्छ। गाउँपालिकाले त्यो पनि गरेन। के हामी गाँउपालिका बासिन्दा होइनौँ? हामीले जनप्रतिनिधिलाई जिताएर यस्तो दुःख पाउन पठाएका हौँ?’, यो आन्दोलित स्थानीयको प्रश्न हो।
सडकको धुलोका कारण घरबाहिर ५ मिनेट पनि बस्न नमिल्ने अवस्था रहेको उनीहरुको भनाइ छ। घरभित्र समेत धुलो पसेर बसिनसक्नु भएको आन्दोलित स्थानीयको गुनासो छ।