मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले सुरुङमार्ग निर्माण र विद्युतीय सवारी खरिद प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती भएको बताएका छन् ।
पूर्व मुख्यमन्त्री पौडेलले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर बागमती प्रदेशको गठबन्धनको सरकारले सुरुङमार्ग निर्माण कार्य र विद्युतीय बस खरिद प्रक्रिया रोक्न निर्देशन दिएर राष्ट्रघाती काम गरेको बताएका हुन् ।
सरकारले सुरुङमार्ग निर्माण कार्य र विद्युतीय बस खरिद प्रक्रिया रोक्न निर्देशन दिएको खबरले अत्यन्तै मर्माहित र आक्रान्त बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पौडेलले सुरुङमार्ग निर्माण पश्चात नागरिकको स्याबासी एमाले सरकारले पाउने र देश एमालेमय बन्ने त्रास तथा विदेशी व्यापारीबाट आउने कमिसनको आस मिसिएको राष्ट्रविरोधी निर्णयको तीव्र र सशक्त विरोध जनाउन नागरिकसँग अपिल गरेका छन् ।
पूर्व मुख्यमन्त्री पौडेलले देशको राजधानी जोड्ने हरेक मार्गहरु घुमाउरा बनाउनुपर्ने, सिधा र द्रुतमार्गहरु बनाउनै नहुने स्वार्थ बोकेको विदेशी व्यापारीहरुको दास बनेर देशलाई गरीब बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित राष्ट्रघाती निर्णय सच्याउन र अघिल्लो सरकारले सुरु गरेको दीर्घकालीन रुपमा देशलाई फाइदा हुने कामहरु प्राथमिकतासहित सम्पन्न गर्न माग समेत गरेका छन् ।