काठमाडौं। म्याग्दी नदीमा २ वटा मोटरेबल पुल निर्माण गरिएको छ। मंगला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा २ मोटरेबल पुल निर्माण गरिएको हो।
मंगला–२ बाबियाचौरको माटेबगर र वडा नम्बर ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४ फापरखेतबाट मंगला गाउँपालिका–३ पखेर जोड्ने पक्की मोटरेबल पुल सडक डिभिजन कार्यालय बागलुङले निर्माण गरेको हो ।
पुल निर्माण भएपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुँदै ठूलो भूगोल र बस्ती भएका बरंजा र अर्मन सिधा सडक सञ्जालमा जोडिएका मंगला गाउँपालिकाकाले जनाएको छ।
बरंजाका वासिन्दालाई म्याग्दी नदी पारि रहेको बाबियाचौर गाडी चढेर पुग्न बेनीबजार पुगेर ४० किलोमिटरभन्दा बढी घुमाउरो यात्रा गर्नुपर्ने समस्या थियो। उक्त पुल निर्माण भएपछि सहज भएको छ।
मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरंजा तथा वडा नम्बर ५ अर्मनका २ हजार ५०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । पुलबाट यातायातका साधन आवतजावत गर्न सुरु भइसकेको बताइएको छ।
नदीबाट जोखिम मोलेर आवतजावत गर्नु पर्ने बाध्यता हटेको छ। स्थानीय स्तरमा उत्पादन भएका सामग्रीहरु बजार सम्म लानको लागि सहज भएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन्।