काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य अझै बढ्ने संकेत गरेको छ । निगमका प्रवक्ता बिनितमणी उपाध्यायले भारतबाट नयाँ मूल्यसूची भोलि आउने र बढेरै आउने अनुमान गरिएको बताएका हुन् ।
निगमले अहिलेकै मूल्यमा अब इन्धन खरिद गर्नका लागि भारतीय आयल कर्पोरेसन (आइओसी)लाई भुक्तानी गर्न नसक्ने जनाएको छ । अहिले पाक्षिक नोक्सानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको भन्दै निगमले घाटा कम गर्न सरकारले अनुदान नदिए मूल्य समायोजनको विकल्प नरहेको स्पष्ट पारेको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुसँग सोमबार वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईको संयोजकत्वमा छलफल भएको थियो । छलफलमा निगमले तथ्याङ्क प्रस्तुत गर्दै घाटा थेग्न सक्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।
उपाध्यायले भारतबाट मूल्य बढेर नयाँ सूची आएपछि फेरि समायोजनको निर्णय गर्ने समेत बताए । आजको छलफलमा वाणिज्य सचिवले बजार मूल्य बढ्न नदिने र निगमलाई घाटाबाट बचाउन पनि थप गृहकार्य भइरहेको आश्वासन दिए ।