काठमाडौं। मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले निर्माण कम्पनीलाई काम सुरु गर्न निर्देशन दिएको छ। निर्देशनालयले श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीलाई निर्माण काम सुरु गर्न निर्देशन दिएको हो।
आयोजनाले आज (शुक्रबार) सूचना जारी गर्दै निर्माण कम्पनीले लामो समयदेखि निर्माणको काम नभएको भन्दै निर्माण कम्पनीलाई ७ सात दिनभित्रमा निर्माण कार्य सुरु गर्न निर्देशन दिएको छ।
उक्त कार्यालयअन्तर्गत संचालनमा रहेको सन्धिखर्क–भन्डार–रतनमारे–गोखुङ्गा २७.२६ किलोमिटर सडक विस्तारको कामनै सुरु नगरेको र सो निर्माण कम्पनीले ठेक्का पाएर पनि कामलाई नियमितता नदिएको निर्देशनालयले जनाएको छ। हाल सो निर्माण कम्पनीले निर्माण कार्य बन्द गरेको बताइएको छ।
केही समय अगाडी मात्रै निर्देशनालयले लिखित पत्रमार्फत निर्माण कम्पनीलाई सम्पर्कमा आएर निर्माण कार्य अगाडी बढाउन अनुरोध गरेको तर निर्माण कम्पनीले अटेर गरि सम्पर्कमा नै नआएपछि सूचना जारी गरेर नै काम सुरु गर्न निर्देशन दिन बाध्य भएको निर्देशनालयको भनाइ छ।
निर्देशनालयले उक्त निर्माण कम्पनल्लाई ७ दिनभित्र कार्यालयमा उपस्थित भई निर्माण कार्य बन्द गर्नु तथा कार्यालयको सम्पर्कमा रहन नसक्नुको कुनै उचित कारण भए लिखित जवाफ पेस गरी निर्माण कार्य सुरु गर्न समेत निर्देशन दिएको छ।
तोकिएको समयभित्र उचित कारणसहित सम्बन्धित आधिकारिक प्रतिनिधि उपस्थित नभएमा वा निर्माण कार्य सुरु नगरेमा ठेक्का सम्झौताको सर्तहरु तथा प्रचलित कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइने निर्देशनालयले सूचनामा उल्लेख गरेको छ।
