काठमाडौं। पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा धार्मिक पर्यटकको चहलपहल बढ्न थालेको छ। केवलकार सञ्चालनसँगै धार्मिक पर्यटकको चहलपहल बढ्न थालेको हो।
मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको छ। गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका केवलकार सञ्चालनसँगै मन्दिरको थप धार्मिक महत्व बढ्ने र धार्मिक पर्यटक वृद्धि हुने अपेक्षा मन्दिर व्यवस्थापनले गरेको छ।
नयाँ वर्षयता विगतको तुलनामा धार्मिक पर्यटकहरुको आगमन वृद्धि भएको मन्दिर व्यवस्थापनको भनाइ छ। मौलाकालिका केवलकार निर्माणले मन्दिरको धार्मिक महत्वलाई बढावा दिएको बताइएको छ।
मौलाकालिका केवलकार सञ्चालनले चितवन,नवलपरासी र तनहुँ मात्रै नभइ नजिकका आन्तरिक र विदेशी पर्यटक आवागमनमा समेत वृद्धि हुने अपेक्षा रहेको छ।
होटलसहितको मौलाकालिका केवलकार झण्डै एक अर्ब ५० करोड रूपैयाँ लागतमा बनेको छ।