काठमाडौं। पूर्वाधार विकास निर्देशनालय कार्यालय मनाङले काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ। कार्यालयले आज (सोमबार) सूचना प्रकाशित गर्दै काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको बताएको हो।
कार्यालयले शंकरमाली लामा जेभीसँग ७ वर्षअघि चामे सडक विस्तार र मोटोरेबल पुल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो। तर, पटक पटक ठेक्काको म्याद थप गर्दा पनि निर्माण व्यवसायीले काम सम्पन्न नगरेपछि ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ।
म्याद थप गरी ठेक्का सम्झौता बमोजिम निर्माण कार्य अगाडि बढाउन कार्यालयले ताकेता गराउँदा समेत लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्ने सन्दर्भमा कुनै चासो नदेखाएको कार्यालयले जनाएको छ।
कार्यालयले ठेक्का तोड्नु नपर्ने कुनै मनासिब कारण भएमा ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। अन्यथा, यसै सूचनालाई अन्तिम ताकेता मानी कारबाहीको प्रक्रिया अगाडी बढाइने कार्यालयले जनाएको छ।
