ताप्लेजुङ । पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । मन्दिर दर्शन गर्न एकैदिन ४ हजार १ सय ३१ जना भन्दा भक्तजन आएको क्षेत्र विकास समितिले जनाएको छ ।
क्षेत्र विकास समितिका अनुसार वैशाख लागेयता अहिले सबैभन्दा पाथीभराको दर्शनका लागि आएका हुन्र।
वैशाख १५ मा अन्धशुक्र सकिएसँगै तीर्थयात्रीको आगमन बढेको क्षेत्र विकास समितिले जनाएको छ । त्यस अघिसमेत दैनिक सयौँको सङ्ख्यामा तीर्थयात्री आइरहेका थिए । यो सिजनमा सबैभन्दा धेरै चैत ४ गते ५ हजार ७ सय ८ जना भक्तजन पाथीभरा पुगेका थिए । अन्धशुक्र लागेसँगै तीर्थयात्रीको आगमन घटेको थियो तर शुक्रबार यता तीर्थयात्रीको आगमन बढेको हो । मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्दा पाथीभरा क्षेत्र र सदरमुकाम फुङ्लिङका होटल समेत खचाखच भएका छन्।
पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटी, माथिल्लो फेदी, सुकेटारसहितका होटल भरिभराउ भएको होटल व्यवसायीले बताए। पछिल्लो केही दिनयता साँझ बिहान सामान्य वर्षा भएर चिसो बढे पनि तीर्थयात्रीको आगमन भने बढ्दो छ । भक्तजनको घुइँचो लागेसँगै पूजाआजालाई सहज र छिटो बनाउन पाथीभरा क्षेत्रमा रहेका कर्मचारीलाई पूर्णरूपमा खटाइएको छ ।
पाथीभरा मन्दिरमा स्वदेशी तथा विदेशीसमेत गरी वार्षिक लाखौँको संख्यामा तीर्थयात्री आउने गरेका छन् । बडादशैंमा तीर्थयात्रीको भीड हुन्छ । त्यसपछि भने फागुनदेखि वैशाखसम्म धेरै तीर्थयात्रीको आउने गरेका छन् ।