रुकुम पूर्व । सिस्ने गाउँपालिका–१ सिस्नेमा निर्माण गरिने विद्युत् आयोजनाका लागि आवश्यक सामग्री हेलिकोप्टरबाट ओसार्न थालिएको छ । रुकुमकोटमा रहेका सामग्री हेलिकोप्टरले १५ खेपमा ओख्रेन पुर्याएको हो ।
विद्युतीय सामग्री खरिद र ढुवानीका लागि जिम्मा लिएको ओसियन पावर सर्भिसले विद्युतीय सामग्री ढुवानी गरेको हो । १ करोड ५२ लाख रुपैयाँमा यो कम्पनीले सामग्री खरिद र ढुवानीको जिम्मा लिएको थियो ।
कम्पनीका प्रतिनिधि दीपक वीसीका अनुसार ६ वटा ट्रान्सफर्मर, एउटा जेनेरेटर, एउटा टर्वाइन, पेनस्टक पाइप, कीएचडी बोर्डलगायतका सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको थियो । बाँकी सामग्री ढुवानी र अरु निर्माणको काम भने निर्माण उपभोक्ता समितिले गर्ने बताइएको छ ।
विद्युत् आयोजना निर्माण हुने ठाउँमै विद्युत् आयोजनाका लागि आवश्यक सामग्री पुर्याइएको हो । सडक सञ्जालमा नजोडिएको सिस्नेमा यी सामग्री ढुवानीमा समस्या हुने भएपछि ठेकेदार कम्पनीले २२ लाख रुपैयाँ तिरेर सामग्री ढुवानी गराएको हो ।