भैरहवा। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रका व्यवसायीले माग गरेका छन्। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै व्यवसायीले विमानस्थल सञ्चालन गर्न माग गरेका हुन्।
२५६७औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० समारोहका क्रममा लुम्बिनी पुगेका प्रधानमन्त्री प्रचण्डलाई विमानस्थल सञ्चालनका लागि ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको छ।
सङ्घले प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमणको सुरुवात गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुनुपर्ने, राष्ट्रिय ध्वजावाहक जहाजको उडान नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलायन्सहरू आकर्षित नभएकाले नेपाल वायुसेवा निगमका जहाजबाट सेवा सुरु गर्नुपर्ने, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–दिल्ली, भैरहवा–मलेसिया, भैरहवा–कतार सेक्टरमा उडान सुरु गर्नुपर्ने र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार यहीँ भएकाले विश्वका सबै बौद्धिष्ट मुलुकलाई पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित वा चार्टर्ड उडानका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरेका छन्।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट उडान हुने अन्तर्राष्ट्रिय विमानहरूमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानको व्यवस्था मिलाउनुपर्ने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान अवतरणका लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकोमा त्यो छुट एक वर्षसम्मका लागि निरन्तरता दिनुपर्ने, विमानस्थलमा उडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरणहरू शीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन् ।