पर्सा। वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गरेको छ। महानगरले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउने एक जनालाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो।
सफा, स्वच्छ वीरगञ्ज बनाउने अभियान चलाएको महानगरले जथाभावी फोहोर फालेका वीरगञ्जका शिवपुजन चौरसियालाई नियन्त्रणमा लिएर जरिवाना तिराएको हो।
वीरगञ्जको बाइपास सडक खण्ड अन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैँसीको सडेको हड्डी खसाएर दुर्गन्ध फैलाएपछि उनलाई जरिवाना गरिएको महानगरले जनाएको छ।
महानगरले यस अघि सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहोर गरेको भन्दै ५१ हजार रुपैयाँ जरिवाना गरेको थियो।
नगर सफा राख्न वीरगञ्ज महानगरले मुख्य तथा सहायक सडकमा ट्र्याक्टर तथा ठेलाबाट दैनिक ३–३ पटक फोहोर संकलन गर्नुका साथै ब्रुमरमार्फत सडक बढार्ने काम गरिरहेको छ।