बागलुङ। बागलुङको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद उद्यान निर्माण गर्न थालिएको छ। गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानमा सहिद उद्यान निर्माण गर्न थालेको हो।
उक्त स्थानमा सहिद उद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ । सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा अहिले उद्यान निर्माण थालिएको छ । अझै केही जग्गा व्यवस्थापन गरी पाँच रोपनी क्षेत्रफलमा उद्यान निर्माण हुने भएको हो ।
उद्यानमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्कबहादुर थापा र चाँदनी थापाको सालिक राखिने छ । बागलुङबजार नजिकै रहेको यस ठाउँ पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ ।
सहिद उद्यानले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाखले जग्गा सम्याउने र पदमार्ग निर्माणको काम भइरहेको बताइएको छ।