सोलुखुम्बु। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ खिरौमा मेडिटेशन सेन्टर निर्माण गरिने भएको छ। नेपालका लागि भारतीय राजदूत नबीन श्रीवास्तवले बुद्ध जयन्तीका दिन शुक्रबार मेडिटेशन सेन्टर निर्माणका लागि शिलान्यास गरेका हुन्।
भारतको लगानीमा ङोन्गा देक्छोन छोलिङ मेडिटेसन सेन्टर निर्माण हुने भएको हो। करिब ४ करोडको लागतमा एक वर्षभित्र निर्माण सक्नेगरी ठेक्का लागेको मेडिटेशन सेन्टरका लागि अपुग रकम गाउँपालिकाले बेहोर्ने गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले जानकारी दिए।
शिलान्यास कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले बुद्धभूमि नेपालको धार्मिक विकासमा सहयोग गर्ने बताएका छन्।
कार्यक्रममा गाउँपालिकाले वडा नम्बर १ मा एउटा, २ मा एउटा र ५ मा एउटा विद्यालय भवन निर्माण गरिदिन राजदूतसमक्ष आग्रह गरेको छ।
त्यस्तै वडा नम्बर ३ मा स्वास्थ्य चौकी भवन, ४ मा अस्पताल भवन र २ मा प्रथामिक अस्पतालको कर्मचारी आवास गृह निर्माण गरिदिन आग्रह गरेको गाउँपालिका अध्यक्ष कुलुङले बताए। उक्त मागप्रति राजदूत श्रीवास्तवले आफूहरू सकरात्मक रहेको भन्दै थप सल्लाह गरेर अघि बढ्ने बताएका छन्।